Logo

१२ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ।’

भिजिट भिसामा विदेश पठाउनेहरूसँग रकम असुली गरेको आरोपमा अध्यागमनका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनले उक्त पैसा गृहमन्त्रीसमेतलाई बुझाउने गरेको बयान दिएपछि अहिले रमेश लेखकको चौतर्फी आलोचना भइरहेको छ।

यसैबीच, पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए। उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थिति तथा आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे।

बैठकले गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी र विजय सैजु नेतृत्वको नेपाल राष्ट्रिय पार्टीसँग आजै एकता कार्यक्रम तय भएको पनि सापकोटाले जानकारी दिए।


सम्बन्धित समाचार