१२ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतमा चर्चित तीनकुने घटना र भाटभटेनी लुट प्रकरणमा संलग्न प्रतिवादीहरूको बयान सोमबारबाट सुरु भएको छ। तीनकुने घटनामा संलग्न ५० जना प्रतिवादीमध्ये दुर्गा प्रसाईंको बयानबाट बयान प्रक्रिया सुरु भएको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सो बयान प्रक्रिया अगाडि बढाइएको हो। राज्यविरुद्धको कसुरमा अभियोग लागेका यी ५० जनाको बयान पूरा भएपछि थुनछेकसम्बन्धी बहस सञ्चालन गरिने बताइएको छ।
त्यसैगरी, न्यायाधीश पदमराज पाण्डेको इजलासमा भाटभटेनी लुट प्रकरणमा संलग्न ११ जना प्रतिवादीहरूको बयान पनि सोमबारबाटै सुरु गरिएको छ। सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अभियोग दर्ता गरेको हो।
















