१२ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच पार्टी एकता सम्पन्न भएको छ। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा दुवै पार्टीले एकता घोषणा गरेका हुन्।
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुको नेतृत्वमा आएको समूहसँग माओवादी केन्द्रको एकता घोषणामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित शीर्ष नेताहरू सहभागी थिए।
कार्यक्रममा प्रचण्डले पार्टी एकतालाई आगामी राजनीतिक स्थायित्व, संघीयता र सामाजिक न्याय सुदृढ बनाउने दिशातर्फको महत्वपूर्ण कदमको रूपमा प्रस्तुत गरे। उनले स्थानीय र क्षेत्रीय रूपमा क्रियाशील रहेका पार्टीहरूसँगको एकता भविष्यमा पनि जारी रहने संकेत दिए।
यसअघि माओवादी केन्द्रले नेसपा (गंगानारायण श्रेष्ठ पक्ष) सँग पनि एकता गरेको थियो। एउटै दिन दुई फरक राजनीतिक समूहहरूसँग एकता गर्दै माओवादी केन्द्रले पार्टी सुदृढीकरणको अभियानलाई तीव्रता दिएको देखिन्छ।
दुवै नयाँ समायोजनहरू पार्टी संगठनभित्र समावेश गरिने र कार्य विभाजनको विषयमा आगामी बैठकमार्फत टुंगो लगाइने बताइएको छ।















