१२ जेठ, काठमाडौं । विगत केही वर्षयता नेपालमा बीमा क्षेत्र तीव्र गतिमा विकासोन्मुख छ । बीमा सेवामा सर्वसाधारणको पहुँच, कम्पनीहरूको विस्तार, र नियामक व्यवस्थाहरूको कडाईबीच, एक अत्यन्तै महत्त्वपूर्ण सूचकांक हो— सोल्भेन्सी रेसियो। यही अनुपातले कम्पनीको दीर्घकालीन स्थायित्व र जोखिम वहन क्षमताको मूल्याङ्कन गर्छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी अनुपात २.४७ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २.३९ को तुलनामा सुधारिएको छ । यथेष्ट पूँजी, विवेकपूर्ण लगानी नीति, र नियामकको सक्रियता यसको मुख्य कारण देखिन्छ ।
सोल्भेन्सी के हो र किन महत्त्वपूर्ण छ ?
सोल्भेन्सी मार्जिन भन्ने वित्तीय सूचकले बीमा कम्पनीको कुल सम्पत्तिबाट दायित्व कटौती गरेपछि बाँकी रहेको पूँजीलाई मापन गर्छ । यसको माध्यमबाट मूल्याङ्कन गरिन्छ, कम्पनी बीमितहरूलाई भविष्यमा पर्ने दाबीहरूको भुक्तानी गर्न सक्षम छ वा छैन ।
नेपाल बीमा प्राधिकरणले सोल्भेन्सी रेसियोको न्यूनतम मापदण्ड १.५ (१५० प्रतिशत) तोकेको छ । यो भनेको दायित्व र सम्पत्तिको अनुपात हो । दायित्व भन्दा सम्पत्ति बढी हुँदा सोल्भेन्सी मार्जिन बढी हुने गर्छ । तर, नेपाली बीमा कम्पनीहरू प्रायः यसभन्दा माथिको अनुपातमा सोल्भेन्सी कायम गरिरहेका छन्, जसले बजारको स्थायित्व र सुरक्षाको संकेत दिन्छ ।
जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी स्थिति
जीवन बीमा क्षेत्रमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ, जसको सोल्भेन्सी रेसियो ३.८६ पुगेको छ । रिलायबल लाइफ र सिटिजन लाइफ कम्पनीले पनि क्रमशः ३.६४ र ३.४२ को उल्लेखनीय अनुपात कायम गरेका छन् । यी सूचकहरूले कम्पनीहरूको जोखिम सहन सक्ने क्षमतामा भरपर्दो वृद्धि देखाउँछन्।
त्यसो त, सबै कम्पनीको अवस्था उस्तै छैन । नेशनल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात १.३४, लाइफ कर्पोरेशन कम्पनी १.४२, नेपाल लाइफ इन्स्योरेन्सको १.४५ र सानिमा रिलायन्स लाइफको १.४६ मात्र छ, जुन नियामकको न्यूनतम सीमा १५० प्रतिशत भन्दा पनि तल पर्छ ।
अघिल्लो वर्ष यो अनुपात ४.७३ थियो, जसबाट चालु वर्षमा कम्पनीको पूँजीगत संरचनामा गम्भीर कमजोरी आएको देखिन्छ ।
निर्जीवन बीमा कम्पनीहरूको स्थिति अझ सशक्त
निर्जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी रेसियो ७८.९७ प्रतिशत रहेको छ । यद्यपि, यहाँ मूल्याङ्कन प्रणाली थोरै भिन्न छ, किनभने यहाँ प्रतिशतमा प्रस्तुत गरिएको छ । केही कम्पनीको अवस्था असाधारण रूपमा बलियो छ आइजीआई पुडेन्सियल इन्स्योरेन्सको अनुपात ३४.७५, हिमालयन एभरेष्टको ३३२.४५, र सिद्धार्थ प्रिमियमको ३१८.८५ छ ।
अन्य सवै इन्स्योरेन्स कम्पनीहरुको सोल्भेन्सी मार्जिन १.५० भन्दा बढी नै रहेकोले जीवन बीमा कम्पनीको तुलनामा निर्जिवन बीमा कम्पनीहरु सक्षम र सवल देखिन्छन् ।
अर्कोतर्फ, केही कम्पनीहरूले सोल्भेन्सीको विवरण नै प्रकाशित गरेका छैनन्। राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी जस्ता कम्पनीहरूको पारदर्शिता अभावले नियामक निगरानीमा चुनौती थपिएको देखिन्छ ।
नयाँ निर्देशन : जोखिममा आधारित पूँजी प्रणाली
बीमा प्राधिकरणले सोल्भेन्सी नियन्त्रण र पूँजी पर्याप्तताका लागि नयाँ ढाँचाको निर्देशन जारी गरिसकेको छ, जसलाई “रिस्क बेस्ड क्यापिटल” (RBC) भनिन्छ । यो प्रणालीअनुसार कम्पनीले बजार, क्रेडिट, जीवन, आपतकालीन (भूकम्प, बाढी आदि), र सञ्चालन जोखिम मूल्याङ्कन गरी पूँजी संरचना बनाउनुपर्छ ।
यस निर्देशनले कम्पनीहरूको अनुशासन र पारदर्शिता बढाउनेछ । साथै, सोल्भेन्सी रेसियो न्यून भएको अवस्थामा नियामकले कम्पनीको नयाँ व्यवसायमा रोक, लाभांश वितरणमा प्रतिबन्ध, वा सञ्चालक समितिमा हस्तक्षेप गर्न सक्ने अधिकार राख्दछ ।
नेपालको बीमा बजार वित्तीय दृष्टिकोणले सुदृढ हुँदै गएको देखिन्छ । सोल्भेन्सी अनुपातको समग्र स्तर सन्तोषजनक छ भने, जोखिमयुक्त कम्पनीहरूमा नियामक निगरानीको आवश्यकता प्रष्ट देखिन्छ । आगामी वर्षहरूमा जोखिममा आधारित पूँजी प्रणालीको प्रभावकारी कार्यान्वयन र सशक्त नियामक पहलहरूले नेपाली बीमा प्रणाली अझ पारदर्शी, सन्तुलित र विश्वसनीय हुने अपेक्षा गर्न सकिन्छ ।















