१२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मेयर राजेशमान सिंहको कार्यकालमा बेरुजु रकम घटाउनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। महानगरपालिकाको बेरुजु वार्षिक रूपमा घट्दै गएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ।
मेयर सिंह निर्वाचित हुनुअघि आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज महानगरको कुल बेरुजु रकम ६७ करोड ७८ लाख १० हजार रुपैयाँ थियो। त्यसयता, यो रकम क्रमिक रूपमा घट्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा बेरुजु रकम घटेर ५० करोड ९१ लाख ५० हजार रुपैयाँमा झर्यो।
यस आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा पेश्की बेरुजु करीब ८ करोडले घटेर ७८ लाख ८१ हजार रुपैयाँ मात्र देखियो। गत आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज महानगरको कुल बेरुजु रकम २२ करोड ७५ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ। यसमा पेश्की बेरुजु ५१ लाख ५० हजार रुपैयाँ मात्र छ।
महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा वीरगन्ज महानगरपालिकामा गरेको ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षणमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत मात्र हो।
वीरगन्ज महानगरपालिकाका आन्तरिक लेखा परीक्षक हरिशंकर कुर्मीले खर्च प्रक्रियामा सुधार आएकाले बेरुजु घटेको बताएका छन्। उनका अनुसार, हालका जनप्रतिनिधिबाट अनुचित दबाब नहुनु र कर्मचारीले सबै प्रक्रिया पूरा गरेर काम गर्नु पनि बेरुजु घट्नुको प्रमुख कारण हो।
मेयर राजेशमान सिंहले पनि भुक्तानी लगायतका काममा कर्मचारीलाई कुनै दबाब नदिने गरेको स्पष्ट पारेका छन्। उनले कानुन, नियम र प्रक्रियाले मिल्ने काम मात्रै गर्न कर्मचारीहरूलाई प्रोत्साहित गर्दै आएको र बेरुजु कसरी कम गर्न सकिन्छ भन्नेमा ध्यान दिई काम गर्न निर्देशन दिइरहेको बताए।















