Logo

१२ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले समाजवादी क्रान्तिको तयारीका लागि कम्युनिष्ट एकताको प्रक्रियालाई तीव्रता दिइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक पार्टी समायोजन कार्यक्रममा उनले आगामी दिनमा समाजवादी आन्दोलन बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्ने उल्लेख गरे।

अध्यक्ष प्रचण्डले २०६४ सालको निर्वाचनमा प्राप्त जनमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त्यसबाट नेपाली श्रमजीवी वर्गलाई ठूलो क्षति पुगेको स्मरण गरे। संविधान घोषणा भएपछि एकताको प्रक्रिया सुरु भएको बताउँदै उनले समाजवादी क्रान्तिको तयारीका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेकोमा जोड दिए।

उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभवका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसँगको एकता प्रयास भएको तर देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले सफल हुन नदिएको आरोप लगाए।

सोही कार्यक्रममा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष गंगानारायण श्रेष्ठले विगतमा पार्टीबाट अलग हुनु गल्ती भएको स्वीकार गर्दै पार्टी एकताका लागि पहल सुरु गरेको बताए।


सम्बन्धित समाचार