Logo

१२ जेठ,सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका किसानले वर्षे धानबालीको बीउ राख्न थालेका छन्। भदैया र अगहनी बालीका लागि सोना सारो, मनी मन्सुली, सोना मन्सुली तथा विभिन्न हाइब्रिड जातका बीउ किसानहरूले राख्न सुरु गरेका हुन्। पाँच दिनअघि परेको वर्षाका कारण सिँचाइको आवश्यकता नपरेको र त्यसले गर्दा बीउ राख्ने काम छिटो भएको किसानहरू बताउँछन्।

जिराभवानी गाउँपालिका–२, सेढवाका किसान अमृत चौधरीका अनुसार यस वर्ष विगतको भन्दा चाँडो बीउ राख्ने काम भएको छ। अहिले राखिएको धानको बीउ २०÷२५ दिनपछि अर्थात् असारको पहिलो सातामा रोप्नका लागि तयार हुने चौधरीले बताए। विगतमा भने जेठ २० गतेपछि बीउ राख्ने र असार १५ गतेपछि मात्रै किसानहरूले रोपाईं गर्दै आएका थिए।

धानबालीको बीउका लागि भारतीय बजारमा निर्भरता
पर्साका अधिकांश किसान धानबालीको उन्नत जातको बीउका लागि भारतीय बजारमा निर्भर छन्। किसानहरू बीउ खरिदका लागि नरकटियागञ्ज, भंगहा, इनर्वा, मैनाटाड, भेलाही, सिकटा तथा बेतिया लगायतका भारतीय बजारमा धाउने क्रम जारी छ। नेपाली बजारमा उचित मूल्यमा बीउ उपलब्ध नभएको भन्दै किसानहरू भदैया र अगहनी धानका विभिन्न ब्रान्डका बीउ खरिदका लागि भारत जाने गरेको बताएका छन्।

भारतीय रुपैयाँ सटहीमा किसान ठगिँदै
उचित मूल्य र गुणस्तरीय बीउ खरिदका लागि भारतीय बजार जाने क्रममा किसानहरू भारतीय रुपैयाँ सटहीमा ठगिने गरेका छन्। नेपाली १ सय ६० रुपैयाँ बराबर १ सय भारतीय रुपैयाँ हुनुपर्नेमा भारतीय व्यापारीहरूले १ सय भारतीय रुपैयाँका लागि १ सय ६५ नेपाली रुपैयाँसम्म लिने गरेको किसानहरूको गुनासो छ।

सरकारले सिफारिस गरेको धानको बीउप्रति घट्दो आकर्षण
नेपाल सरकारले नेपाली किसानका लागि सिफारिस गरेका स्वदेशी तथा भारतीय विभिन्न कम्पनीका बीउप्रति किसानको आकर्षण घटेको छ। बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवन, ललितपुरले चैते धानबालीका लागि ७ वटा र वर्षे धानबाली अन्तर्गत १ सय ६८ जातका उन्नत तथा हाइब्रिड जातका बीउ सिफारिस गरेको छ। तीमध्ये चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ जातको धानबाली र एकदमै न्यून हाइब्रिड जातको बीउ मात्र नेपाली किसानहरूले लगाउने गरेका छन्।

सरकारले सोना मन्सुली, भदैया मन्सुली, मनी मन्सुली तथा अन्य हाइब्रिड जातको बीउ सिफारिस नगरे पनि यी जातका धानबाली किसानको रोजाइमा पर्दै आएका छन्। सरकारले सिफारिस गरेका बीउ अत्यधिक महँगो तथा उत्पादन सन्तोषजनक नभएको भन्दै किसानहरू यी बालीहरू लगाउन रुचाउँछन्। पर्सा जिल्लाको कुल धानखेती योग्य जमिनमध्ये ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा यी धानबालीको खेती हुँदै आएको छ।

अवैधानिक रुपमा सिफारिस नभएका बीउको बिक्री वितरण
नेपाल सरकारको सिफारिस बिना नै कतिपय भारतीय बीउबिजनको खुलेआम बिक्री वितरण भइरहेको छ। विभिन्न भारतीय कम्पनीले उत्पादन गरेका बीउबिजन सरकारको अनुमति बिना नै नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ। नेपाली किसानको रोजाइमा समेत परेका भदैया मन्सुली, मनी मन्सुली तथा सोना मन्सुली जातको धानको बीउ सरकारको सिफारिस बिना नै व्यापारिक संस्थाहरूले बिक्री वितरण गरिरहेका छन्।

नेपाल सरकारकै मातहतमा रहेका पर्साका अधिकांश स्थानीय सरकारले समेत सिफारिस प्राप्त गर्न नसकेका यी जातका धानका बीउ ५० प्रतिशत अनुदानमा आम किसानहरूलाई वितरण गरिरहेका छन्।

यस सम्बन्धमा कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकृत उमेश थापाले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको अनुमति बिनाको बीउ बिक्री गर्न नमिल्ने बताए। सीमा क्षेत्रका किसानहरूले आफैं खरिद गरी प्रयोगमा ल्याउनु फरक कुरा भए पनि कुनै संस्थाले आयात गर्नु र पालिकाले खरिद गरी किसानलाई वितरण गर्नु अवैधानिक भएको अधिकृत थापाले स्पष्ट पारे। तर, संघ सरकारले यी अवैधानिक कार्यको नियन्त्रणका लागि कुन निकायलाई जिम्मेवारी दिएको छ भन्ने यकिन नभएको उनले बताए।


सम्बन्धित समाचार