१२ जेठ, काठमाडौं । महान् सहिद तथा जनपक्षीय पत्रकारिताका अग्रदूत कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपालले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रेस सेन्टर नेपालका अनुसार स्मृति दिवसको पूर्वसन्ध्यामा सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै छन्। सेनको विचार, जनपक्षीय पत्रकारिता, गणतन्त्र र समाजवादी परिवर्तनका मुद्दालाई केन्द्रमा राख्दै केन्द्रीयदेखि स्थानीय तहसम्म कार्यक्रमहरू तय गरिएका छन्।
मुख्य कार्यक्रम राजधानीको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्युमा जेठ १३ गते बिहान ११ बजे सुरु हुने भएको छ। कार्यक्रममा उपत्यका, प्रतिष्ठान, एशोसियट प्रदेशसहित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीहरू, पूर्वपदाधिकारी, सदस्यहरू, तथा पत्रकार समुदायको सहभागिता रहनेछ।
कार्यक्रम दुई चरणमा विभाजित हुनेछ। पहिलो चरणमा प्रेस सेन्टर नेपालले तयार पारेको कृष्ण सेन ‘इच्छुक’ सम्वन्धी विशेष भिडियो सामग्री प्रशारण गरिनेछ। दोस्रो चरणमा ‘पिसिएन संवाद’ कार्यक्रम हुनेछ, जसमा ‘गणतन्त्र र समाजवादको यात्रा’ तथा ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ शीर्षकमा संवाद सञ्चालन गरिनेछ।
कार्यक्रमको अन्त्यमा प्रेस सेन्टर नेपालद्वारा प्रदान गरिने वार्षिक पुरस्कारको घोषणा तथा प्रमुख अतिथिको सम्वोधन हुनेछ।
यस अवसरमा प्रेस सेन्टर नेपालले सम्पूर्ण पत्रकार, शुभेच्छुक, सदस्य तथा सञ्जालका पदाधिकारीहरूलाई कार्यक्रममा सक्रिय उपस्थितिका लागि आग्रह गरेको छ। साथै, समाचार संकलन, छायाङ्कन, प्रकाशन र प्रशारणका लागि पत्रकार मित्रहरूलाई विशेष अनुरोध गरिएको छ।
स्मृति दिवसले सहिद इच्छुकप्रतिको सम्मान मात्र होइन, जनपक्षीय पत्रकारिताको मार्गचित्रलाई स्मरण गर्ने अवसर पनि दिने प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित प्रेस नोटमा जनाएको छ।















