Logo

तस्वीर : गोरखापत्र

१३ जेठ, महोत्तरी । बर्दिबास नगरपालिकाको वडा नं ३ स्थित पाटु र राई मण्डल क्षेत्रमा १० हजार वर्ष पुराना मानव निर्मित ढुङ्गे हतियार फेला परेका छन्। यसै सन्दर्भमा पुरातत्त्व विभागको विज्ञ टोलीले शनिबारदेखि उक्त क्षेत्रमा व्यापक पुरातात्त्विक अध्ययन सुरु गरेको छ।

बर्दिबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेका अनुसार, प्राचीन मानव इतिहासको महत्वपूर्ण तथ्यांक उजागर गर्ने उद्देश्यले नगरपालिकाले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट आएका प्रा. डा. मञ्जितलाई अनुसन्धान टोलीमा संलग्न गराएको छ।

जर्मनीका अनुसन्धानकर्ता गुडन कार्विन्सले सन् १९८० को दशकमा तराईका विभिन्न भूभागमा मानव सभ्यताको अध्ययन गरी सन् २००७ मा ‘प्री हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्यपाषण युगमा हतियार निर्माण हुने स्थल भनेर चिनाएका थिए। कार्विन्सले उक्त किताबको भाग १, पृष्ठ २३९ मा अहिलेको राई मण्डल अर्थात् पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेका छन्।

रातोमाटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियार भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उहाँले आफ्नो किताबमा उल्लेख गरेको पाइएको हो। मध्यपाषण १० देखि १२ हजार वर्षअघिको अवधि र ६ देखि १० हजार वर्षअघिको नवपाषणको अवधिलाई भनिन्छ। गुडन कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्षअघिको मध्यपाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ।

कर्विन्सले राई मन्डल आसपास र पाटुमा नै आएर किन अध्ययन गर्नुभयो होला भन्ने विषय अझै रहस्यमय छ तर विख्यात भूगर्भविद् कर्विन्सले गरेको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियारचासोको विषय बनेको छ।

कर्विन्सले उक्त पुस्तकमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष पहिले अर्थात् मध्यपाषण युगमा मान्छेको बाक्लो चहलपहल रहेको उल्लेख गरेका छन्। यो मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ ।


सम्बन्धित समाचार