Logo

१३ जेठ, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–५, नकटुवामा जीर्ण अवस्थामा रहेको महेन्द्र आधारभूत विद्यालयको भवन र कम्पाउण्ड वालको निरीक्षण गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले नयाँ भवन निर्माण र कम्पाउण्ड वालको पुनर्निर्माणका लागि प्रतिबद्धता जनाएका छन् ।

विद्यालयको दयनीय अवस्थाबारे जानकारी पाएपछि सोनलले स्थलगत निरीक्षण गरेका थिए । भवनको स्थलगत निरीक्षणपछि उहाँले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटोले पनि विद्यालयको शैक्षिक विकासका लागि पालिकाबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको पुनर्निर्माणमा स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।

जीर्ण भवनका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थी र अभिभावकहरुले अध्यक्ष सोनलको प्रतिबद्धताको स्वागत गर्दै भवन निर्माण तथा कम्पाउण्ड वाल निर्माण चाँडै हुने अपेक्षा गरेका छन्। नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यार्थीलाई सुरक्षित तथा उपयुक्त वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुनेमा उनीहरु आशावादी छन् ।


सम्बन्धित समाचार
भर्खरै