Logo

१३ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको करोडौंको अवैध असुली संगठित मानव तस्करीसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। उनले यसमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नता रहेको समेत आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भइरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आइरहेको छ। यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होइन। यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरूमाथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो।“

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ रहेको आरोप लगाए। “यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिँदैन,“ पुनले भने, “अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ। यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडी कसरी पठाउनु भयो? के साँच्चै मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो?“

सांसद पुनले यस घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै