Logo

१३ जेठ,काठमाडौं । नेपालमा पछिल्लो एक महिना (वैशाख महिना) मा आगलागीका घटनाहरूमा व्यापक वृद्धि भएसँगै ११ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले दिएको जानकारीअनुसार मृत्यु हुनेहरूमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन्।

वैशाख महिनाको तथ्याङ्क विश्लेषण गर्दा आगलागीबाट ६७ जना घाइते भएका छन्, जसमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका समावेश छन्। आगलागीका घटनामा मानवीय तथा भौतिक दुवैतर्फ ठूलो क्षति हुने गरेको प्रहरीले जनाएको छ। नागरिक सचेत भएमा धेरै घटनाहरू रोक्न सकिने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, सोही अवधिमा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यसका अतिरिक्त, १८९ पशु चौपायाले पनि ज्यान गुमाएका छन्। यी आगलागीका घटनाबाट कुल २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

आगलागीका कारण ११० परिवार विस्थापित भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, वैशाख महिनामा देशभर कुल ६३४ वटा आगलागीका घटनाहरू दर्ता भएका छन्।

प्रदेशगत आगलागीका घटना:

प्रहरीको तथ्याङ्कअनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएका छन्, जहाँ १४३ वटा घटना दर्ता भएका छन्। यसैगरी, कोशी प्रदेशमा १३६, मधेश प्रदेशमा १०४, बागमतीमा ६४, काठमाडौं उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएका छन्।

आगलागीसँग सम्बन्धित विज्ञहरूले धेरैजसो आगलागीका घटनाहरू मानवीय कारणले हुने गरेको बताउँदै आएका छन्।


सम्बन्धित समाचार
भर्खरै