Logo

१३ जेठ,काठमाडौं । संसद्का प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको भनिएको भ्रष्टाचारको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले बैठक अघि बढाउने प्रयास गरे पनि विपक्षीको अवरोधका कारण सम्भव भएन।

माओवादी केन्द्रका सांसद वर्षमान पुनले सार्वजनिक सञ्चारमाध्यममा त्रिभुवन विमानस्थल र अध्यागमनमा ‘भिजिट भिसा’ का नाममा करोडौंको भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गरे। उनले विदेश जान खोजेका सामान्य नागरिकबाट ५० लाखदेखि ३ करोड रुपैयाँसम्म अवैध असुली भइरहेको आरोप लगाए।

सांसद पुनले गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएको र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनले तत्काल राजीनामा दिनुपर्ने माग गरे। पुनले भने, “गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन।”

रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा गरेर छानबिनका लागि वातावरण बनाइदिनुपर्ने बताए।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीले आफ्ना कुरा राख्न खोजेको पटक–पटक बताए पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका थिए। सत्तापक्षका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेलाई सभामुखले बोल्ने समय दिए पनि विपक्षी दलको नाराबाजीका कारण उनी बोल्न सकेनन्। त्यसपछि रास्वपा सांसदले संसद्मा नाराबाजी गरेका थिए।

गृहमन्त्रीको राजीनामाको मागमा अडिग रहेका प्रतिपक्षी दलका कारण संसदको कारबाही प्रभावित भएको छ।


सम्बन्धित समाचार