१३ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले गणतन्त्र माओवादीका लागि ’रगतले लेखिएको’ उपलब्धि भएको बताएकी छन्। कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ’पिसिएन संवाद’ कार्यक्रममा बोल्दै उनले गणतन्त्रको स्थापनामा जनता र विशेषगरी माओवादीको ठूलो योगदान रहेकोमा जोड दिइन्।
“गणतन्त्र सानोतिनो दुःखले आएको होइन। यसमा जनताको ठूलो योगदान छ,“ शर्माले भनिन्, “माओवादीका लागि गणतन्त्र रगतले लेखिएको हो। राजनीतिक विचारले मात्रै होइन भावनात्मक हिसाबले पनि हो।“
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी शर्माले हाल गणतन्त्रमाथि विभिन्न कोणबाट प्रश्न उठिरहेको बताइन्। उनका अनुसार, कतिपय सानातिना कमजोरीलाई आधार बनाएर गणतन्त्रलाई मन नपराउनेहरूले प्रश्न उठाएका छन् भने अर्कोतर्फ सरकारमा बसेकाहरूले प्रभावकारी रूपमा काम गर्न नसकेका कारण पनि प्रश्न उठ्ने अवस्था आएको छ।
“गणतन्त्रप्रति प्रश्न उठाइएका छन्। यो लोकतान्त्रिक गणतन्त्र कतिपयलाई मन परेको छैन,“ उनले भनिन्, “सानातिना कमजोरीलाई उठाएर प्रश्न उठेका एउटा मन नपरेर र अर्को वातावरण नबनेर उठिरहेको छ। सरकारमा बसेकाले काम गर्न नसकेका कारण प्रश्न उठ्ने अवस्था आएको छ। गणतन्त्रको पक्षमा लड्ने पक्षमा नभएर अरूको पक्षमा काम भइरहेकाले प्रश्न उठिरहेको छ। सुशासन आजको आवश्यकता हो। त्यसको पक्षमा काम गर्न जरुरी छ।“















