१३ जेठ,वीरगञ्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा पर्सा जिल्लामा प्रमुख राजनीतिक दलहरूले दीपोत्सवसहित विभिन्न कार्यक्रम गरी उत्सवका रूपमा मनाउने निर्णय गरेका छन्। आज (सोमबार) नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले आगामी जेठ १५ गते साँझ ६ बजे वीरगञ्जस्थित गहवामाई मन्दिर अगाडि सामूहिक रूपमा दीपोत्सव आयोजना गर्ने सहमति जनाएको छ। गणतन्त्रको सम्मानमा आयोजित यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिने बैठकले निर्णय गरेको छ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीका साथै नेकपा एमाले पर्साका सचिव महेश दास, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, केन्द्रीय सदस्य मनोज चौधरी, नेपाली कांग्रेस पर्साका प्रवक्ता राकेश पाण्डेय, जनमत पार्टीका प्रदेश सदस्य राजनारायण मिश्र तथा महानगर अध्यक्ष महादेव शर्मा लगायतका नेताहरूको सहभागिता रहेको थियो।

















