१३ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते आफ्नो पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भड्काउन खोजेको आरोप लगाएका छन्। मंगलबार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले संविधानले दिएको स्वतन्त्रता कुण्ठित गर्न खोजिएको बताए।
लिङ्देनले भने, “प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन्। गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो।“ उनले सरकारले नागरिकको संवैधानिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाए।
राप्रपाले जेठ १५ गते रत्नपार्कबाट कार्यक्रम गर्ने घोषणा गरेको सन्दर्भमा लिङ्देनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले त्यहीँ नजिकै आफ्ना कार्यकर्ता बोलाएर भिडाउन खोजेको आरोप लगाए। उनले पत्रकारहरूलाई यस विषयमा निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे।
स्मरण रहोस्, राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसकै दिन राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन्। यसैबीच, प्रधानमन्त्री ओलीले काठमाडौंलाई नेकपा एमालेको नियन्त्रणमा राख्नुपर्ने भन्दै आफ्ना कार्यकर्तालाई सोही अनुसार तयारी गर्न निर्देशन दिएका थिए, जसलाई लिङ्देनले आफ्नो कार्यक्रम भड्काउने प्रयासका रूपमा लिएका छन्।















