Logo

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) रहेको बजेट वक्तव्यमा उल्लेख छ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमानभन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी रहेको बताए।

बजेटको खर्च व्यहोर्नका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ संकलन गरिने लक्ष्य राखिएको छ। राजस्व र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने रकम आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्रीले जानकारी दिए।

चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसलाई मध्यावधी समीक्षामार्फत् ९.०१ प्रतिशतले बजेट कटौती गरिएको थियो।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजनाहरू संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिएको समेत बताएका छन्। उनले प्रस्तावित बजेट कार्यान्वयन गर्दा ६ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा गरिएको पनि जानकारी दिए।


सम्बन्धित समाचार