१५ जेठ,काठमाडौं । सरकारले ज्येष्ठ नागरिकले प्राप्त गर्ने वृद्धभत्ताको उमेर हद बढाएर ७० वर्ष कायम गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन्। यसअघि ६८ वर्ष उमेर पुगेका नागरिकले वृद्धभत्ता पाउँदै आएका थिए।
अर्थमन्त्री पौडेलले बजेट भाषणमा भने, “उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई दृष्टिगतगरि आगामी आर्थिक वर्षदेखि ७० वर्ष पुगेका नागरिकहरूले ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था मिलाएको छु।“ यद्यपि, हाल प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भने भत्ता पाउने उमेर यथावत् राखिएको पनि उनले स्पष्ट पारे।
सामाजिक सुरक्षा भत्ताको भार र यसको व्यवस्थापन अहिले सार्वजनिक बहसको विषय बनेको छ। सार्वजनिक मञ्चदेखि संसद् हुँदै अदालतसम्म यस विषयको चर्चा चलेको थियो। उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन र भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको थियो।
हालको व्यवस्थाः
नेपालमा आर्थिक वर्ष २०५१÷५२ देखि ’वृद्ध भत्ता’ को नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन हुँदै आएको छ। त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ। सुरुमा ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट सुरु भएको यो भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पु¥याइएको छ।
सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ मा उल्लेख भएअनुसार हाल नेपालमा विभिन्न शीर्षकमा सामाजिक सुरक्षा प्रदान गरिँदै आएको छ। जसअन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), क्षेत्र तोकिएका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख जाति, दलित बालबालिका र क्षेत्र तोकिएका बालबालिका गरी १० वटा विभिन्न वर्गले प्रत्येक महिना मासिक भत्ता पाउने गरेका छन्।
सरकारको यो निर्णयले सामाजिक सुरक्षा प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने र यसको वित्तीय दिगोपनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।


















