१६ जेठ,काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा नेपाल) ले ’राष्ट्रिय मुक्ति क्रान्ति’ सम्पन्न गर्न भन्दै विभिन्न सांगठनिक संरचनाहरू निर्माण गरेको घोषणा गरेको छ। पार्टीले यी संरचनाहरूलाई ’क्रान्तिका औजार’ को संज्ञा दिएको छ।
रामुपा नेपालले सार्वजनिक गरेका ’क्रान्तिका औजार’ हरूमा पार्टी संरचना, अग्रदस्ता, स्वराज, प्रभावी नेटवर्क, आर्थिक योजना लगायतका संगठनहरू समावेश छन्। अग्रदस्ताअन्तर्गत वाईआईएल (योङ इन्डिजिनियस लिग), राष्ट्रिय मुक्ति बाहिनी, राष्ट्रिय सतर्कता दस्ता र संघर्ष समिति रहेका छन्। त्यस्तै, ’स्वराज’ को अवधारणामा राष्ट्रिय परिषद्, बहुल राष्ट्रिय सभा र ग्राम सभा रहने जनाइएको छ।
पार्टीले राष्ट्रिय मुक्ति क्रान्तिका लागि पार्टीका अन्य संरचना र ’क्रान्तिका औजार’ बीच समन्वयका लागि कार्यविधि समेत बनाएको छ, जसलाई ’संघर्षका कार्यविधि’ पनि भनिएको छ। ’क्रान्तिका औजार’ हरूको सञ्चालनका लागि पार्टी अध्यक्षको नेतृत्वमा एक हाईकमान्ड रहनेछ, जसअन्तर्गत विभिन्न क्षेत्रीय कमान्डहरू रहने पार्टीले बताएको छ।
पार्टीका अनुसार, ’क्रान्तिका सबै औजार’ कमान्डरमार्फत नै नियन्त्रित हुनेछन् र संघर्षकालमा कमान्ड सिस्टम नै प्रभावकारी हुनेछ। संघर्ष एवं विद्रोहको समयमा ’क्रान्तिका सबै औजार’ बीचको समन्वय क्षेत्रीय कमान्डले गर्नेछ भने केन्द्रीय कमान्डरले कतिपय योजना एवं कार्यक्रमहरूको सीधा समन्वय गर्नेछन्।
’क्रान्तिका औजार’ हरू संघर्षका लागि तयार रहन, हरेक परिस्थिति र मौकाहरूको प्रयोग गर्ने उद्देश्यका साथ सांगठनिक रणनीति र रणकौशल विकसित गर्न आ–आफ्नो भूगोलमा कमान्ड ब्युरो, विशेष ब्युरो र ग्राम प्रभारले ’क्रान्तिका सबै औजार’ का प्रमुखबीच प्रत्येक २०–२० दिनमा बैठक गर्ने व्यवस्था मिलाएको छ।
संघर्षकालमा सञ्चार र सुरक्षाका लागि कमान्डरहरूले ह्याम रेडियो वा सिग्नल कोड प्रयोग गर्ने पार्टीको योजना छ। छिटो र बदलिँदो परिस्थितिमा अनुकूल निर्णय एवं कार्यान्वयन गर्न तथा विवाद र अन्तरविरोध कम गर्न कमान्ड संरचनाको दायित्व हुने बताइएको छ।
’क्रान्तिका औजार’ अन्तर्गतको योङ इन्डिजिनियस लिग (वाईआईएल) सञ्चालन र नियन्त्रणसम्बन्धी कार्य योजनाहरू तयार गर्न कार्यविधि बनाइनेछ। केन्द्रीय कमान्डबाट नियन्त्रण हुने गरी विभिन्न निर्धारित स्थानमा आवासीय रेजिमेन्टको रूपमा वाईआईएल रहने जनाइएको छ।
यसैगरी, गोप्य सूचना संकलनका लागि पार्टीले राष्ट्रिय सतर्कता दस्ता गठन गरेको छ। यो दस्ताले राष्ट्रिय मुक्ति क्रान्तिको हित एवं सुरक्षा सम्बन्धमा आवश्यक सूचना संकलन गर्ने, अध्ययन, मूल्याङ्कन, विश्लेषण र सम्पादन गरी नेतृत्वलाई पूर्व जानकारी दिनेछ। यो दस्ता गोप्य रूपमा सञ्चालन गरिने पार्टीले स्पष्ट पारेको छ।















