१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी र प्रतिक्रियावादी शक्ति छाडा भइरहेको भन्दै तीव्र आलोचना गरेका छन्।
आइतबार पार्टीको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको राजनीतिक अवस्था र सत्ता संरचनाको चर्को आलोचना गरे।
प्रचण्डले राजावादी शक्तिहरूले पैसाको बलमा भाडाका मान्छे उतारी उच्छृङ्खल गतिविधि गराइरहेको आरोप लगाए। उनले भने, “राजावादीहरू कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु।”
उनका अनुसार, राजावादीहरू यतिबेला खुला रूपमा सडकमा देखा परेका छन् र माओवादी आन्दोलनमाथि आक्रमणको योजना बनाइरहेका छन्। “उनीहरू छाडा भएका छन्। छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्। यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्,” उनले कार्यकर्तालाई निर्देशन दिए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपा एमाले नेतृत्वको सरकार र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि प्रहार गरे। हालको सत्ता संरचनामा इच्छाशक्ति र नेतृत्व क्षमताको अभाव रहेको उल्लेख गर्दै उनले भने, “यो सरकारको त केही हैसियतै छैन। यसको इच्छाशक्ति पनि छैन, हैसियत पनि छैन, गफ गर्ने बाहेक।”
उनले चैत १५ गते देशभर प्रदर्शनको नाममा राजावादी र मण्डलेहरूले देखाएको ‘हिंसा र आगजनीको प्रवृत्ति’को उदाहरण दिँदै त्यसको प्रतिवाद गर्न सक्ने राजनीतिक क्षमता माओवादी केन्द्रमा मात्र रहेको दाबी गरे। “त्यसको वैचारिक, राजनीतिक प्रतिवाद अरूले गर्न सक्दैनन्,” उनले भने।
प्रचण्डले वर्तमान चुनौतीको सामना गर्न माओवादी शक्तिहरू अग्रसर हुनुपर्ने बेला आएको भन्दै व्यवस्था, संविधान र गणतन्त्रको रक्षाका लागि माओवादीले अगुवाइ गर्नुपर्ने बताएका छन्।
“देशभर हामीले एक लाख जनता उतारेर देखायौं, उनीहरूले गफ गरे काठमाडौँ कब्जा भन्ने। तर दुनियाँले देख्यो– कति कमजोर रहेछन् यिनीहरू,” प्रचण्डले व्यङ्ग्य गरे।
राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि माओवादी केन्द्रले निर्णायक भूमिका खेल्नुपर्ने बताउँदै प्रचण्डले कार्यकर्तालाई संगठित र सचेत रहन आग्रह गरे। उनले सम्भावित प्रतिगमनविरुद्ध राजनीतिक, वैचारिक र आन्दोलनात्मक तीनै तहमा तयारी गर्न आह्वान गर्दै चेतावनीपूर्ण शैलीमा भने, “अब इँटको जवाफ पत्थरले दिने बेला आएको छ।”















