१८ जेठ, वीरगञ्ज । वीरगन्जबाट चोरी भएका दुई वटा मोटरसाइकलसहित सर्लाही र बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–४ का २१ वर्षीय राधेश्याम यादव र बाराको बारागढी गाउँपालिका–१ का २५ वर्षीय रूपेश चौधरी रहेका छन्।
बैशाख २३ गते वीरगन्ज महानगरपालिका–१३, मुर्लीस्थित नयाँ टोलमा सारजा खातुनको नाममा दर्ता भएको मधेश प्रदेश ०३–०२७ प ५५५५ नम्बरको मोटरसाइकल घरअगाडि पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो।
घटनाको अनुसन्धान गर्दै जाँदा जेठ १६ गते राधेश्याम यादवलाई सोही मोटरसाइकलसहित सर्लाहीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै, जेठ १७ गते वीरगन्ज–४ अमरचोकमा बसोबास गर्ने प्रमोद साहको नाममा दर्ता भएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो रातो पल्सर मोटरसाइकल पनि घरअगाडि पार्किङ गरिएको ठाउँबाट चोरी भएको थियो।
यस घटनामा संलग्न रहेका रूपेश चौधरीलाई सो मोटरसाइकलसहित बाराबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, पक्राउ परेका दुवैजनामाथि अहिले थप अनुसन्धान भइरहेको छ।
पछिल्ला दिनमा घरअगाडि पार्किङ गरिएका सवारी साधन चोरी हुने घटनाहरू बढ्दो देखिएकाले, प्रहरी प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिएको छ। साथै, यस्ता चोरीमा संलग्न समूहहरूको खोजी कार्य अझ तीव्र पारिएको पनि प्रहरीले जानकारी दिएको छ।

















