Logo

२२ जेठ,बुडापेस्ट। युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायलको गाजामा जारी आक्रमणलाई पत्रकारहरूमाथिको ‘अकल्पनीय नरसंहार’को संज्ञा दिँदै सन् २०२३ अक्टोबरदेखि हालसम्म करिब २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ।

बुडापेस्टमा दुई दिने बैठकपछि बुधबार जारी गरिएको एक विज्ञप्तिमा इएफजेले गाजामा पत्रकारसहित सर्वसाधारणमाथि भएको घातक हमलाको कडा शब्दमा निन्दा गरेको छ। यस संयुक्त घोषणापत्रमा युरोपका ४७ देशमा रहेका इएफजेका १२० सदस्य संस्थाहरूले हस्ताक्षर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय निकायहरूले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेका बेला, इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको छ।

इएफजेले पत्रकारको रूपमा मौलिक मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि उनीहरूको अक्षमताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्मीहरूसँग एकता व्यक्त गर्न र अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको बताएको छ।

महासङ्घले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीहरूसँग एकताबद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ।

बैठकले युरोपेली संघ (ईयू) निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्य पूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै ईयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ। इएफजेले पत्रकारलगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहुँच कायम गर्दै युद्धविरामको लागि आह्वान गरेको छ।रासस/क्यूएनए


सम्बन्धित समाचार