प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२४ जेठ, वीरगञ्ज । आज जेष्ठ शुक्ल एकादशी, हिन्दू धर्मावलम्बीहरूको लागि विशेष धार्मिक महत्व बोकेको दिन हो । यस एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ, जसमा श्रद्धालुहरूले पानीसमेत नपिई व्रत बस्ने परम्परा रहेको छ । भगवान् विष्णुको आराधना र भक्तिमा समर्पित यो दिन विशेष पूजाआजा, पाठपारायण र तुलसी रोपाइँसँग जोडिएको छ।

निर्जला एकादशीका दिन तुलसीको बिउ (दल) राख्ने परम्परा छ। रोपिएको तुलसीको दललाई एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन विशेष पूजाका साथ तुलसी मठमा सारिने विधि रहिआएको छ। वैदिक मान्यताअनुसार, तुलसी विष्णु प्रिय वनस्पति भएकाले एकादशीमा यसको रोपण र संरक्षणलाई पवित्र कार्य मानिन्छ ।

यद्यपि, शुक्रबार नै पूरै ६० घडी एकादशी परेको भए पनि केही पञ्चाङ्ग अनुसार शनिबार बिहान ५:२३ सम्म मात्र एकादशी तिथि रहेको छ। वैष्णव परम्परामा द्वादशी स्पर्श भएको एकादशी विशेष मानिने भएकाले शनिबार दल राख्ने कार्य गरिँदैछ।

वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार मूल वैदिक परम्परामा तिथिको खण्डन (टुट्ने मान्यता) मानिँदैन । त्यसैले, औंसीपछि गन्दै जाँदा ११औं दिनमा नै एकादशी पर्छ भन्ने मान्यता वैदिक दृष्टिमा महत्त्वपूर्ण छ। तर वैष्णव परम्परामा तिथिको विशेष गणना गरिन्छ र भगवान् विष्णुलाई स्पर्श गर्ने द्वादशी तिथिलाई पनि ध्यानमा राखिन्छ।

निर्जला एकादशीको सबैभन्दा मुख्य पक्ष व्रत हो। यो दिन पानीसमेत नखाई उपवास बस्ने परम्परा रहिआएको छ। भक्तजनहरू दिनभर भगवान् विष्णुको पूजा, एकादशी माहात्म्यको पाठ, तथा धार्मिक कथा वाचन/श्रवण गर्छन्। यस दिनको व्रतले वर्षभरका अन्य एकादशी व्रत बराबरको पुण्य मिल्ने धार्मिक विश्वास छ ।

हिन्दू पात्रो अनुसार, एकादशी तिथि प्रत्येक शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ। तर निर्जला एकादशी सबैभन्दा कठिन र पुण्यदायिनी एकादशी मानिन्छ।


सम्बन्धित समाचार