Logo

२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्ने कार्यमा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छिन्। राहादानी विभागद्वारा आज धनगढीमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।

मन्त्री देउवाले राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको स्पष्ट पारिन्। उनले भनिन्, “यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइ दिनुहोला।”

उनले यस्तो संवेदनशील सेवा दिने कर्मचारीहरूले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र उनीहरूलाई छिटोछरितो र सहज सेवा कसरी दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन्। विशेष गरी सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा। राणाले बताइन्।

मन्त्री देउवाका अनुसार राहादानी लिनका लागि पहिले जस्तो जटिल अवस्था अहिले छैन, तर सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका सुन्नमा आएको छ। उनले भनिन्, “सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविकै हो। यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ।”

उनले राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन्। मन्त्री डा। राणाले भनिन्, “पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरूले सरकारलाई सुझाव दिन सक्नुहुनेछ। त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ।”

 


सम्बन्धित समाचार