प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२४ जेठ, सेंढवा । पर्साको जिराभवानी गाउँपालिका वडा नं.– २ बसन्तपुरस्थित तराई सोलार बिद्युत उत्पादन कम्पनीमा शनिबार पीडित पक्षले धर्ना दिएका छन्। पुष २६ गते कम्पनीमा काम गर्ने क्रममा गम्भीर घाइते भएका पोखरिया नगरपालिका वडा नं.– २ लमरीया निवासी २५ वर्षीय रामबाबु पासवानले पाँच महिना बितिसक्दा पनि कुनै क्षतिपूर्ति नपाएको भन्दै कम्पनीको विद्युत उत्पादन केन्द्रमा धर्ना दिएका हुन्।

धर्नामा पीडित पासवानसहित सो गाउँका १०० भन्दा बढी महिला र पुरुषको सहभागिता रहेको थियो। उनीहरुले क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीसहित विभिन्न निकायमा पटकपटक उजुरी दिए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।

गत पुष २६ गते सोलार प्यानल जडान गर्ने सामान कन्टेनरबाट झार्ने क्रममा पासवान घाइते भएका थिए। उनलाई तत्काल वीरगञ्जस्थित एल एस न्यूरो अस्पतालमा उपचार गरी थप उपचारका लागि बि एण्ड बि अस्पतालमा लगिएको थियो। पासवानको दाहिने खुट्टा काटिएको छ भने बायाँ खुट्टाको हड्डीमा स्टिल लगाइएको छ। उनी अहिले पूर्ण रुपले अपाङ्ग भएका छन्।

पीडित पासवानले कम्पनीले हालसम्म कुनै किसिमको क्षतिपूर्ति नदिएको बताएका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि पुनः चेकजाँच तथा औषधी उपचार खर्च आफैंले बेहोर्नुपरेको उनको भनाइ छ। अस्पतालमा उपचारका क्रममा रहँदा होटेलको खानाको बक्यौता अझै पनि तिर्न बाँकी रहेको र त्यसको लागि सधैं फोन आउने गरेको गुनासो पनि उनले गरे।

पासवानका चार वर्ष, सात वर्ष र दश वर्षका गरी तीन जना छोरीहरु छन्। जग्गासमेत नभएका कारण अहिले बिहान–बेलुकाको छाक टार्न पनि धौधौ भएको पासवानको परिवारले बताएको छ।


सम्बन्धित समाचार