Logo

२६ जेठ, काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।

३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन्। भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे। शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे। सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए।  ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो।

स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे। माइलक लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रनमा अविजित रहे।

यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौकाको मद्दतले ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।


सम्बन्धित समाचार