Logo

२६ जेठ,काठमाडौं । मनसुन सुरु भएसँगै देशभर डेंगी संक्रमण देखिन थालेको छ, जसले जनस्वास्थ्यमा नयाँ चुनौती थपेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार यस वर्ष जनवरी १ देखि जुन ८ सम्मको अवधिमा देशभर १ हजार २ सय ५५ जना डेंगी संक्रमित फेला परिसकेका छन्। यो संक्रमण हालसम्म ७२ वटा जिल्लामा पुष्टि भइसकेको छ।

जुनदेखि अगस्ट (असार–भदौ) सम्मको अवधिलाई डेंगी संक्रमणको उच्च जोखिम कायम रहने समयका रूपमा लिइन्छ।

संक्रमणको अवस्था र प्रभावित जिल्लाहरूः

ईडीसीडीको तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या काठमाडौं उपत्यकामा सर्वाधिक देखिएको छ। काठमाडौंमा १३२ जना, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भेटिएका छन्।

नियन्त्रणका लागि सामूहिक समन्वय आवश्यकः ईडीसीडी

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगीलाई शून्यमा ल्याउन वा डेंगी गराउने लामखुट्टेलाई सखाप पार्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताएका छन्। उहाँले भन्नुभयो, ‘डेंगीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ।’

डा. दाहालका अनुसार यो वर्ष मनसुन केही छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्ने सम्भावना छ। ‘यो वर्ष डेंगी संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आँकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन। यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन,’ उहाँले थप स्पष्ट पार्नुभयो।

डा. दाहालले डेंगी नियन्त्रणमा सबैले आ–आफ्नो ठाउँबाट बराबर सहभागिता जनाएमा तीनै तहका सरकारले आवश्यक कार्यक्रममार्फत डेंगी संक्रमण र यसबाट हुने मृत्युदर कम गर्न सकिनेमा जोड दिनुभयो।

डेंगीबाट बच्ने उपायहरूः

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको प्रजनन रोक्नु महत्त्वपूर्ण हुन्छ। विज्ञहरूले निम्न उपायहरू अपनाउन आग्रह गरेका छन्ः

शरीर पूरै ढाक्ने कपडा लगाउने।
घर तथा कार्यस्थल वरपरका खाल्डाखुल्डी पुर्ने।
खानेपानी वा ढल चुहिएको पाइएमा तत्काल मर्मत गर्ने।
प्रयोगमा नआएका भाँडाकुँडा घोप्ट्याएर राख्ने।
पानीका ट्याङ्कीहरू नियमित रूपमा पूरै खाली गरी सफा गर्ने।
सुत्ने बेला झुलको प्रयोग गर्ने।

पानी जम्मा गरिएका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनजस्ता भाँडाहरूलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने।
आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्ने।


सम्बन्धित समाचार