Logo

२६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामआशिष यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रममा कमला नदीमा नयाँ पुल बनाउने योजना समावेश नगरिएकोमा आपत्ति जनाएका छन्।

नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा भाग लिँदै सांसद यादवले सरकारले विगतमा सम्झौता गरेर पनि नीति तथा कार्यक्रम बनाउँदा बिर्सिएको आरोप लगाए।

‘मधेशको लाइफलाइन हुलाकी सडकअन्तर्गत कमला नदीमा नयाँ पुल बनाउन युवाहरू अनसन बसेका थिए,’ उनले भने, ‘उनीहरूसँग सरकारले कमलामा नयाँ पुलका लागि संघीय सरकारले बजेट नदिए प्रदेश सरकारले बनाउने सम्झौता गरेको थियो, तर मधेशको नीति तथा कार्यक्रम आउँदा कमलामा नयाँ पुलको योजना किन आएन?’

सांसद यादवले १३ वर्ष लगाएर बनेको २४ करोडको कमला पुल तीन वर्षअगाडि उद्घाटन नहुँदै भासिएको स्मरण गराए। ‘अहिले एकदेखि सवा अर्बमा कमला पुल बन्ने इन्जिनियरहरुको अनुमान छ। मधेश सरकारले के यो पुल बनाउन सक्दैन?’ उनले प्रश्न गरे।

कमला नदीदेखि ८०० मिटर उत्तरमा नयाँ पुल बनाउने सहमतिसमेत भएको र सो ठाउँमा पुल बनाएपछि संघीय सरकारसँग अनुमतिसमेत लिनु नपर्ने यादवले बताए। उनले कमलामा पुल बनेमा मधेशको जीवन रेखा बन्ने दाबी गरे।


सम्बन्धित समाचार
भर्खरै