Logo

२६ जेठ,सेढवा । मधेश प्रदेशकै एक प्रमुख पर्यटकीय स्थलको रूपमा परिचित पर्साको ठोरी गाउँपालिकामा घुम्नका लागि अर्को एउटा आकर्षक गन्तव्य थपिएको छ। गाउँपालिकाको वडा नं २ मा रहेको ‘ताल खोला’ अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नयाँ रोजाइ बनेको छ।

हुलाकी सडकखण्डबाट करिब एक किलोमिटर पूर्व इच्छानगरभन्दा करिब चार सय मिटर भित्र जंगलमा पर्ने यो ताल खोलामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको स्थानीय व्यापारी मानबहादुर श्रेष्ठले बताए। बढ्दो गर्मीका कारण पर्यटकहरू खोलामा नुहाउन आउने र घण्टौँसम्म रमाउने गरेको उनको भनाइ छ। श्रेष्ठका अनुसार, स्वदेशी पर्यटकका साथै भारतको बेतियादेखि राजधानी दिल्लीसम्मका पर्यटकहरू पनि यहाँ आउने गरेका छन्।

ताल खोलाको पानी नजिकैको जमिनमुनिको मुहानबाट आउने भएकाले यो सधैँ सफा र चिसो रहने गर्दछ, जुन पर्यटकहरूको मुख्य रोजाइको कारण बनेको छ। खोलामा करिब तीन फिट गहिरो पानी र सतहमा ढुङ्गा रहेकाले पानीमा फोहर तथा हिलो नहुने पर्यटकहरू बताउँछन्।

पिउठान घर भई सखुवाप्रसौनी गाउँपालिकास्थित नेरा मावि देउरवानाका शिक्षक खुमबहादुर घर्ती मगरले ताल खोलामा रमाउन पाउँदा निकै रमाइलो अनुभव भएको बताए। “उखरमाउलो गर्मीबिच ताल खोलाको पानीमा आधा घण्टाभन्दा बढी नुहाउँदा जाडो भएको महसुस भयो,“ उनले भने।

ठोरीमा यसअघि पनि राई धारा, ठुटेखोलाको पुल, सितागुफा, रेड हिल पार्क लगायतका स्थानहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै आएका छन्, र अब ताल खोला पनि यस सूचीमा थपिएको छ।


सम्बन्धित समाचार