प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२७ जेठ, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको मुद्दामा शाहीसँग ६ लाख ३६ हजार ४७ रुपैयाँ बिगो माग गरिएको छ।

अख्तियारका अनुसार, शाहीले २०७८ चैत २० गते वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड, जाजरकोट शाखामा रहेको खाताबाट ७ लाख रुपैयाँ चेकमार्फत झिक्न लगाएका थिए। उक्त रकममध्ये ६३ हजार ९५३ रुपैयाँ मात्र राजस्व दाखिला र लेखापरीक्षण बापत कानुनसम्मत खर्च भएको पाइएको आयोगले जनाएको छ।

बाँकी रकमको हकमा भने शाहीले जालसाजी गरेको आरोप छ। उनले राजस्व दाखिला गरेको भनी कृषि विकास बैंक लिमिटेडका १४ वटा झुट्टा तथा नक्कली राजस्व दाखिला भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी १ वटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी रानीचौर सामुदायिक वन उपभोक्ता समूहमा पेस गरेको अख्तियारको आरोप छ।

अख्तियारले शाहीले यसरी आफूलाई गैरकानूनी लाभ पुर्‍याएको र वन उपभोक्ता समूहको खातामा रहेको सरकारी सम्पत्ति/रकम ६ लाख ३६ हजार ४७ रुपैयाँ बदनियतपूर्वक हिनामिना गरेको दाबी गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गतको कसूर र सरकारी तथा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने एवं हेरफेर गरेकोले सोही ऐनको दफा ११ बमोजिमको कसूरमा कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।


सम्बन्धित समाचार