समाचार सारांश AI Generated
- वीरगञ्ज महानगरपालिका : जेठ २९ र ३० गते सबै विद्यालय बन्द रहने ।
- बहुदरमाई नगरपालिका : जेठ २९ र ३० गते सबै विद्यालय बन्द रहने ।
- पोखरिया नगरपालिका : जेठ २८, २९ र ३० गते सबै विद्यालय बन्द रहने ।
- कलैया उपमहानगरपालिका, बारा : जेठ २८, २९ र ३० गते सबै विद्यालय बन्द रहने ।
२९ जेठ, वीरगञ्ज । अत्यधिक गर्मीका कारण पर्सा जिल्लाका विभिन्न स्थानीय तहले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन् । वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाले जेठ २९ र ३० गतेका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा दिने निर्णय गरेका हुन् ।
उक्त निर्णय सम्बन्धित पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै गरेका छन् । पालिकाहरूले बढ्दो गर्मीका कारण बालबालिकामा देखा पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सावधानीस्वरूप विदा दिएको जनाएका छन् । साथै, यो विदा वर्षे विदाबाट कट्टा हुने पनि स्पष्ट गरिएको छ ।
यसअघि, बाराको कलैया उपमहानगरपालिका र पर्साकै पोखरिया नगरपालिकाले पनि गर्मीका कारण विद्यालयहरू बन्द गरेका थिए । मंगलबार अत्यधिक गर्मीका कारण कलैयाका केही विद्यालयमा बालबालिका बेहोस हुने अवस्थासम्म पुगेपछि नगर शिक्षा समितिले तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।
हाल विद्यालय प्रशासनले जेठ ३१ गते शनिबार परेकाले नियमित कक्षा असार १ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ ।
स्थानीय तहहरूको यस्तो निर्णयले गर्मीको चपेटामा परेका बालबालिकाको स्वास्थ्य सुरक्षामा मद्दत पुग्ने विश्वास गरिएको छ । यसैबीच, अभिभावकहरू तथा स्वास्थ्यकर्मीहरूले पनि गर्मीको समयमा बालबालिकालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।















