२९ जेठ, काठमाडौं । तीन महिनामा पहिलोपटक सेयर कारोबार रकमले १२ अर्ब नाघेको छ ।
२०८१ फागुन २० गते १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो । त्यसको तीन महिना लामो समयपछि आज १२ अर्बको सेयर खरिदबिक्री भएको हो । अघिल्ला लगातार दुई दिन १० अर्ब हाराहारीमा कारोबार भएको थियो । २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर बिक्रीपछि १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो ।
आज १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो कुल २ करोड ८६ लाख कित्ता सेयर बिक्रीपछिको कारोबार रकम हो ।
आजको कारोबारलाई ङादी ग्रुप पावर एउटैको १ अर्ब ८ करोडको योगदान मिलेको छ । यसैगरी सानिमा माई हाइड्रोपावरको ७५ करोड, राधी विद्युतको ५३ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड, बुटवल पावर कम्पनीको ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । बजार परिसूचक नेप्से भने यस दिन ९.०८ अंकले घटेको छ । योसँगै २६५५.३८ विन्दुमा कायम भएको छ ।















