२९ जेठ, काठमाडौं । भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीको संगठित अपराधको छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा संघीय सदनमा रहेका सबै प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार यसबारे जानकारी दिएका हुन्।
प्रवक्ता झाका अनुसार, ’भिजिट भिसा मार्फत मानव तस्करीको संगठित अपराध’ लाई सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा सबै प्रतिपक्ष दलहरू एकमत भएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै विपक्षी दलहरूले लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेका थिए। यस विषयमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ। अब छानबिन समिति गठनमा विपक्षीहरूको साझा अडानले संसदको गतिरोध अन्त्य हुने सम्भावना बढेको छ।















