Logo

२९ जेठ, वीरगञ्ज — उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि अदालतमै कालोमोसो प्रहार गरिएको छ। इँटाभट्टा काण्डका मुख्य आरोपी एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताले यस्तो कदम चालेका हुन्।

अदालतको इजलास चलिरहेका बेला अचानक इजलासभित्रै प्रवेश गरेका कार्यकर्ताले कालोमोसो दलेपछि अदालत परिसरमा अफरातफरी मच्चिएको थियो। घटनापछि सुरक्षाकर्मीले तुरुन्त इजलास क्षेत्र नियन्त्रणमा लिएका थिए।

कालोमोसो प्रहार गर्नेहरूमा प्यूठानका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सर्लाहीका पदम बहादुर मगर, र सिरहाका गर्भु महतो रहेको प्रहरीले पुष्टि गरेको छ। उनीहरू नेकपा (बहुमत) का कार्यकर्ता हुन् र पार्टीको विभिन्न तहमा जिम्मेवारीमा छन्। समूहको नेतृत्व धर्मेन्द्र बास्तोलाले गरेका थिए।

सुरक्षा चुनौती र न्यायालयमाथिको आक्रमण

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, न्यायाधीशद्वय थारु र महर्जन नियमित पेशी सञ्चालन गरिरहेका बेला इजलास नम्बर २ मा कालोमोसो प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध रहेको पुष्टि भएको बताइएको छ।

घटनापछि तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

बम काण्ड र विवादास्पद फैसलाको पृष्ठभूमि

पूर्वमन्त्री मोहम्मद अफताब आलममाथि २०६४ सालमा रौतहटको रौजामा भएको बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको जघन्य आरोप लागेको थियो। जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

तर, हालै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उक्त फैसला उल्ट्याउँदै आलमलाई प्रमाण अभावको कारण सफाइ दिएको हो। यही निर्णयले राजनीतिक र कानुनी वृत्तमा तीव्र बहस र आलोचना निम्त्याएको छ।

न्यायमाथिको हस्तक्षेप कि आक्रोशको अभिव्यक्ति ?

न्यायाधीशमाथिको कालोमोसो प्रकरणलाई कानुनी वृत्तले न्यायिक स्वतन्त्रतामाथिको हमला भन्दै निन्दा गरेका छन्। तर विरोधी पक्षले फैसलालाई जनभावनाविपरीत र शक्तिको दबाबमा आएको भन्दै आक्रोश पोखिरहेका छन्।

राजनीतिक मुद्दामा अदालतको निर्णयले चुलिएको तनाव अब न्यायालयको सुरक्षासम्म आइपुगेको छ — जसले कानुनी प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।

यो पनि पढ्नुहोस :-

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार (हेर्नुस् भिडीयो सहित)

 


सम्बन्धित समाचार