Logo

२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, पूर्वअध्यक्ष यादवसहितको संलग्नतामा गाउँपालिकामा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटमा चरम अनियमितता भएको पाइएको छ। चक्रघट्टा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा सौर्य बत्ती जडान कार्यक्रमका लागि २ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको थियो। यो रकम गाउँपालिकाका सबै नौ वडाका लागि छुट्टाछुट्टै शीर्षकमा विनियोजन गरिएको थियो।

उजुरीमाथि अनुसन्धान गर्दा अख्तियारले स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकमलाई पोल खरिद, सोलार प्यानल खरिद, लाइटर, तार, नटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतका लागि बदनियत राखी पाँचवटा प्याकेजमा टुक्र्याइएको पाइएको जनाएको छ। सुरुमा विनियोजित बजेटभन्दा बढी हुनेगरी २ करोड ५३ लाख १७ हजार २५० रुपैयाँको लागत अनुमान स्वीकृत गराएको पनि विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ।

आयोगले यस प्रकरणमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) संजय कुमार ठाकुर, सहायक पाँचौँ एवं जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब–इन्जिनियर सन्तोष राय, सब–इन्जिनियर राजु रायविरुद्ध बिगो मागदाबी गरेको छ।

यसैगरी, ठेक्का प्रक्रियामा संलग्न स्काई राइज ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जय प्रकाश यादव, एस.के.स्टोर्स मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगीता कुमारीविरुद्ध पनि कसुर रकम बमोजिमको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।


सम्बन्धित समाचार