Logo

२९ जेठ, वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मोसो छ्याप्ने तीनजना पक्राउ परेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालतको वीरगञ्ज स्थित अस्थायी इजलासमै प्रवेश गरेर न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन् ।

रौतहटको राजपुर बम बिस्फोट र व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको भन्दै उनीहरुले न्यायधीश खुशी प्रसाद थारुलाई कालो मोसो छ्यापेका थिए ।

इजलासभित्रै नारा लगाउँदै जनताको विरुद्धमा फौसला गर्न पाउँदैन भन्दै न्यायाधीश थारुमाथि मोसो हानिएको थियो । सार्वजनिक भएको भिडियोमा नेकपा बहुमत जिन्दावाद । नेपाली जनताको घरबाट तलब खाने न्यायधीशले नेपाली जनताको विरुद्धमा फैसला गर्न पाईदैन भन्ने नारा लगाएका छन । मोसो प्रहार गरेलगत्तै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार पक्राउ पर्नेहरुमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् ।

कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले पूर्व सांसद आलमको मुद्दामा रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको थियो । आलमलाई सफाई दिएको भन्दै न्यायधीशरुहरुको चर्को आलोचना र विरोध हुदै आएको थियो ।

यो पनि पढ्नुहोस :-

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार (हेर्नुस् भिडीयो सहित)

न्यायाधीश खुशीराम थारुमाथि कालोमोसो प्रहार गर्ने ३ जना पक्राउ


सम्बन्धित समाचार