Logo

३० जेठ, अहमदाबाद । अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २६५ पुगेको छ । यस घटनामा विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यहरुको पनि मृत्यु भएको छ ।

दुर्घटनापछि विमान अहमदाबादको सिभिल अस्पतालको छेउमा रहेको बीजे मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसका कारण थप २४ जनाको ज्यान गएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार “सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन् । उनीहरूको पहिचान गर्न निकै गाह्रो छ । शवका अंगहरू टुक्रा–टुक्रा भएका छन्, कोही जलेका छन् भने कोही काटिएका छन् । यी शवहरूलाई जोडेर गरिएको गणना अनुसार मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।”

मलबामा च्यापिएर धेरै डाक्टरहरूको पनि मृत्यु
भारतिय सञ्चारमाध्यमका अनुसार “मृतकहरूमध्ये २४२ जना यात्रु र चालक दलका सदस्य विमानमा सवार थिए । तीमध्ये एक जना यात्रु मात्र जीवित छन् । दुर्घटना हुँदा एयरपोर्ट नजिकैको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय भएको र अधिकांश मानिस मेसमा रहेका थिए । “त्यसै बेला विमान होस्टेलको भवनमा खसेको थियो, जसका कारण मलबामा च्यापिएर धेरै डाक्टरहरूको पनि मृत्यु भएको छ ।”

मलबा क्षेत्रका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

पूर्व मुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु
यस विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको पुष्टि भएको छ । गुजरात बीजेपी अध्यक्ष सीआर पाटिलले रुपाणीको मृत्युको पुष्टि गरेका हुन् । प्राप्त जानकारी अनुसार, रुपाणी आफ्नी पत्नी अञ्जली र छोरीलाई भेट्न लन्डन जाँदै थिए ।

सीआर पाटिलले यस दुखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै भनेका छन्, “यो दुर्घटनाले विमानमा सवार यात्रुहरूका साथै होस्टेलमा बसिरहेका मेडिकल विद्यार्थीहरूलाई पनि ठूलो क्षति पु¥याएको छ ।”

यस घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह गुजरात पुगेर लगातार स्थितिको अनुगमन गरिरहेका छन् । यस हृदयविदारक घटनाले बीजेपी परिवार पनि अत्यन्तै मर्माहत भएको छ ।

घटनाका भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल
एयर इन्डियाले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई हरसम्भव सहयोगको आश्वासन दिएको छ । विमान अहमदाबादको सिभिल अस्पतालको छेउमा रहेको बीजे मेडिकल कलेजको होस्टेलमा दुर्घटनाग्रस्त भएको थियो ।

यो घटना दिउँसोको खाना खाने समयमा भएको थियो, जब होस्टेलको मेस क्षेत्र मेडिकल विद्यार्थीहरूले भरिएको थियो । मलबा र होस्टेलमा दुर्घटनाको प्रभावका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले देशभरि स्तब्धता र शोकको लहर फैलाएको छ ।

 


सम्बन्धित समाचार