Logo

३० जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति अबेर उक्त आदेश जारी गरेको हो । राति झण्डै सवा १२ बजे अदालतबाट आदेश जारी भएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा अनुसार थप प्रक्रिया अघि बढाएको छ ।

अदालतका शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, यो आदेश १५५ पन्नाको छ ।

थुनामा पर्नेमा को-को छन् ?

आन्दोलनका मुख्य अगुवा दुर्गा प्रसाद प्रसाईं सहित तारा राजावादी (सरोज गौतम), अनुप राजावादी (गोकर्ण शाही), डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा राख्ने आदेश भएको छ।

फरार प्रतिवादी

तीनकुने घटनामा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका बारेमा भने आजको आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै उनीहरूलाई फरार प्रतिवादीको रुपमा राखिएको छ। शाखा अधिकृत पाण्डेका अनुसार, उनीहरू उपस्थित नभएकै दिन अभियोग दायर भएसँगै पक्राउ पूर्जी जारी गर्ने आदेश पहिल्यै भइसकेको थियो ।

आदेश लेखनमा ढिलाइको कारण

धेरै प्रतिवादी र एकसाथ धेरै अभियोग भएकाले आदेश लेखनमा ढिलाइ भएको अदालतका शाखा अधिकृत बालाजी प्रसाद पाण्डेले जानकारी दिए । न्यायाधीश कार्कीसँगै अदालतका कर्मचारीहरू पनि दुई दिनदेखि आदेश लेखनको काममा संलग्न थिए । साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि आदेश भने अबेर राति मात्रै सार्वजनिक भएको थियो ।

प्रसाईंसहितका प्रतिवादीहरूको आदेश सार्वजनिक हुनुअघि अदालत परिसरमा समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मीहरूको बाक्लो भीड लागेको थियो । प्रसाईं तीनकुने घटनापछि केही समय फरार भई भारतबाट पक्राउ परेका थिए ।


सम्बन्धित समाचार
भर्खरै