Logo

३० जेठ, काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको (त्रिवि) परिसरमा सम्पन्न अनेरास्ववियुको २४औं महाधिवेशनले सुजन कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार राति सार्वजनिक भएको विद्युतीय मतदानको परिणामले संगठनमा नयाँ पुस्ताको अग्रसरता र विविधतापूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको छ।

अध्यक्षमा सुजन कडरिया विजयी, प्रकाश पौडेललाई ७ मतले पछि पारे
अध्यक्ष पदका लागि भएको कडा प्रतिस्पर्धामा सुजन कडरियाले प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै अनेरास्ववियुको नेतृत्व सम्हालेका छन्। कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२४ मतमा चित्त बुझाए।

संगठनको अन्य प्रमुख पदहरूमा पनि नयाँ अनुहारहरू देखिएका छन् । खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठले ७०८ मत प्राप्त गरी विजयी भएका छन् भने महिला उपाध्यक्षको जिम्मेवारी अञ्जना सिवाकोटीले ७७५ मतसहित सम्हालेकी छिन्। महासचिवमा दिपक धामी (७८५ मत) र उपमहासचिवमा कमल (८१६ मत) सहित निर्वाचित भएका छन् ।

सचिव पदमा विविध प्रतिनिधित्व
संगठनको सचिव मण्डलमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भए। युवाको विविध आवाज, भूगोल र पृष्ठभूमिको प्रतिनिधित्व देखिएको यो संयोजनलाई संगठनले सन्तुलित भनिरहेको छ।

आयोगहरूमा पनि नयाँ अनुहार
निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भए । लेखा आयोगमा अञ्जली लम्साल (अध्यक्ष), समीक्षा ढकाल (उपाध्यक्ष) र गगनसिंह बस्नेत (सचिव) जिम्मेवारीमा पुगेका छन् ।

अनुशासन आयोगमा सुमन घिमिरे, आकाश गिरी र स्मृति अधिकारी क्रमशः अध्यक्ष, उपाध्यक्ष र सचिवमा विजयी भए। नीति योजना तथा अनुसन्धान आयोगको नेतृत्व प्रकाश विष्ट, योगेश बम र विष्णु पाण्डेले सम्हाल्ने भएका छन्।

२५ जेठदेखि त्रिवि परिसरमा सुरु भएको महाधिवेशनले यसपटक युवा नेतृत्वमा नयाँ जोश र जिम्मेवारीको संकेत दिएको छ।

 


सम्बन्धित समाचार
भर्खरै