Logo

रिभोलुसनरी गार्ड्सका कमान्डर हुसेन सलामीको मृत्यु

३० जेठ, तेहरान । इजरायलले शुक्रबार बिहानैदेखि इरानमाथि सघन आक्रमण जारी राखेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जका अनुसार इजरायली लडाकु विमानहरूले बिहानै इरानका विभिन्न स्थानमा प्रहार थालेका हुन् ।

न्युयोर्क टाइम्सले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ कि इजरायली सेनाले राजधानी तेहरान वरपरका कम्तीमा ६ वटा सैन्य अड्डालाई लक्षित गर्दै हमला गरेको हो।

आईआरजीसी प्रमुख कमान्डर सलामीको मृत्यु पुष्टि

इरानको सरकारी सञ्चारमाध्यमले दिएको जानकारी अनुसार इजरायली आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का कमान्डर हुसेन सलामीको मृत्यु पुष्टि भएको छ। सलामी इरानी सेनाभित्र सर्वाधिक शक्तिशाली व्यक्ति मानिन्थे र ब्यालिस्टिक मिसाइल प्रणालीको रणनीतिक नेतृत्वमा थिए।

उनको मृत्युलाई इरानी सुरक्षा संरचनामा गहिरो आघात मानिएको छ।

प्रमुख आणविक वैज्ञानिकहरू पनि मारिए

अल-जजीराका अनुसार इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ आणविक वैज्ञानिक — मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी — मारिएको पुष्टि भएको छ। यी वैज्ञानिकहरू नतान्ज, फार्दो लगायतका संवेदनशील युरेनियम संवर्द्धन केन्द्रहरूसँग आबद्ध थिए।

इजरायली सुरक्षास्रोतहरूले सेना प्रमुख मोहम्मद बघेरी र अन्य वरिष्ठ सैन्य तथा वैज्ञानिक पदाधिकारीहरू पनि आक्रमणमा मारिएको दाबी गरेका छन्, यद्यपि इरानी पक्षबाट यसको पुष्टि हुन बाँकी छ।

नेतन्याहु: “आवश्यक परे आक्रमण जारी रहन्छ”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार बिहान एक टेलिभिजन सम्बोधनमार्फत ‘इरानी खतरा पूर्ण रूपमा नष्ट नभएसम्म सैन्य कारबाही जारी रहने’ घोषणा गरेका छन्।

उनले भने, “हामीले केवल इरानको आणविक कार्यक्रममाथि होइन, उसको सम्पूर्ण सैन्य संरचनामाथि प्रहार गरिरहेका छौं। यो अभियान आवश्यक परे थप विस्तार हुनेछ।”

क्षेत्रीय तनाव उत्कर्षमा

यस कारबाहीपछि मध्यपूर्वमा तनाव उच्चतम विन्दुमा पुगेको छ। इरानले यसलाई “सीधा युद्ध घोषणा” को रूपमा लिएको छ भने हिजबुल्लाह, हुती विद्रोहीहरू र अन्य इरान निकट सशस्त्र समूहहरू सक्रिय हुन सक्ने चिन्ता बढेको छ।

अन्तर्राष्ट्रिय समुदायले इजरायल र इरानलाई संयमता अपनाउन आग्रह गर्दै यस्ता आक्रमणले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएको छ ।


सम्बन्धित समाचार