३० जेठ, काठमाडौं । लामो समयदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । विपक्षी दलहरूको विरोधका कारण जेठ १३ गतेदेखि पटक–पटक स्थगित हुँदै आएको संसद बैठक आज बस्ने सम्भावना प्रबल बनेको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले संसद अवरुद्ध गर्दै आए पनि पछिल्लो चरणमा ती दलहरू छानबिन समिति गठनमा केन्द्रित हुँदै सहमतिको नजिक पुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार पत्रकारहरूसँग कुरा गर्दै, “सहमतिको वातावरण बनिरहेको छ, शुक्रबारको बैठक सञ्चालनमा आउने सम्भावना उच्च छ,” भनेका थिए । सोही विषयमा आज बिहानदेखि सत्ता र विपक्षी दलबीच अन्तिम छलफल चलिरहेको छ।
प्रतिपक्षले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग राखेपछि सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमाले पनि लचक देखिएका छन्। दुबै पक्ष छानबिन समिति बनाउनेमा सहमत देखिए पनि यसको संरचना, कार्यादेश र संयोजकबारे अझै अन्तिम सहमति जुट्न बाँकी छ।
यदि आज सहमति जुटेर संसद सञ्चालनमा आयो भने सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा सुनाउने कार्यक्रम रहेको छ।
त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पनि पेस गर्ने सम्भावित कार्यसूचीमा रहेको छ।
आजको बैठकले संसदको गतिरोध अन्त्य गर्ने संकेत देखिएको छ। यदि छलफल सफल भयो भने बजेटमाथिको औपचारिक बहस सुरु भई संघीय संसद आफ्नो नियमित कार्यसूचीमा फर्कनेछ।















