काठमाडौँ । संसद्को जारी गतिरोध अन्त्यका लागि आज पनि प्रमुख प्रतिपक्ष दलहरुको बैठक बस्दैछ ।
नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको हो । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबिच साझा धारणा बनाउनका लागि बैठक बोलाएका उनको भनाई छ ।
आज माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेपनि सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले आजसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन् । सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ ।















