Logo

३०, जेठ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अवकाशपछि रिक्त रहेको नेतृत्वका कारण काउन्सिल हाल अनिर्णीत अवस्थामा छ। काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको कार्यकाल दोश्रो हप्ता सकिएपछि काउन्सिल नेतृत्वविहिन भएको हो ।

काउन्सिलभित्र नेतृत्व रिक्तता र सञ्चारमाध्यममा देखिएका पछिल्ला घटनाक्रमबारे छलफल सुरु भएको छ। काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले बिहीबार यस विषयमा काउन्सिलमा छलफल भएको जानकारी दिए। उनले भने, ‘केही तयारी, केही छलफल भएको छ। समग्रमा यो विषय मात्रभन्दा पनि अब अहिलेको परिस्थितिलाई केही सम्बोधन गर्नुपर्छ कि भन्ने छलफल भएको छ।’

बोहराका अनुसार काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित विषयको उजुरी निरुपण गर्दै आएको छ र अदालत तथा नियमन निकायका उजुरीसमेत काउन्सिलमै आउने गरेको बताए। अदालत र न्यायाधीशसँग सम्बन्धित समाचारबारे पनि काउन्सिलमै उजुरी आउने गरेको उनको भनाइ छ।

बोहराले युट्युब, मिडिया र सोसल मिडिया काउन्सिलमा दर्ता नहुने तर सूचीकृत मात्र हुने स्पष्ट पारे। उनले २०७३ मा अनलाइन सञ्चारमाध्यम निर्देशिका आउनुअघि २०७० साउन १६ गतेदेखि नै प्रेस काउन्सिलले अनलाइनहरूलाई सूचीकृतका लागि आह्वान गरी व्यवस्थित गर्ने प्रयास गरेको उल्लेख गरे।

२०८० मा काउन्सिलले युट्युबसम्बन्धी कार्यविधि, युट्युब च्यानल व्यवस्थापन, सूचीकरण र अभिलेखीकरणसम्बन्धी कार्यविधि जारी गरेको थियो। सोही कार्यविधिअनुसार केही युट्युबहरू सूचीकृत हुन आएको भए तापनि पाठकको च्यानल भने काउन्सिलमा सूचीकृत नरहेको जानकारी उनले दिए।

केही समयअघि साइबर ब्युरोमा एक युट्युब च्यानल (पाठकविरुद्ध) उजुरी परेको र प्रहरीले उक्त मिडिया काउन्सिलमा सूचीकृत छ वा छैन भनेर जानकारी मागेको बोहराले बताए। अभिलेखमा नदेखिएपछि उक्त मिडिया सूचीकृत नभएको जानकारी गराइएको थियो।

पाठकको विषयमा काउन्सिलले के गर्ने भन्ने बारेमा भने छलफलपछि मात्रै निर्णय हुने उनको भनाइ छ। यसैबीच, काउन्सिलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लङ्घन भएरनभएको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार पाठकको नाम उल्लेख नगरी यस्ता विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन अदालतबाट भएको आदेशमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोग गर्दा बाधा नपुर्‍याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ र प्रेस स्वतन्त्रताको पक्षमा काउन्सिल सदैव प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। विज्ञप्तिमा कतै पनि पाठकको नाम उल्लेख गरिएको छैन।


सम्बन्धित समाचार