३० जेठ, काठमाडौं । आज काठमाडौं र ललितपुर सहित ३३ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गर्दै ३३ जिल्लामा बाढीको जोखिम भएकाले सर्तकर्ता अपनाउन आग्रह गरेको हो । प्रत्येक दिनजस्तै महाशाखाले आजका लागि बाढीसम्बन्धी जानकारी तथा चेतावनी जारी गरेको छ ।
महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदी÷खोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको छ ।
यीमध्ये १४ जिल्लाका लागि भने महाशाखाले ‘एल्लो वारेन्ट’ (पहेँलो रङ) दिएको छ । जसमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डेलधुरा जिल्ला छन् । पहेँलो रङको अर्थ सामान्यभन्दा माथि मध्यम जोखिम हो ।
यस्तै बाढी महाशाखाले आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जानकारी दिएको छ ।
आवरण तस्विरः फोटो फाइल















