३० जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउने आदेश दिएको छ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति साढे १२ बजे यो आदेश जारी गरेको हो।
को–को परे कारागारमा ?
प्रसाईंसँगै कारागार चलान हुनेहरूमा तारा राजावादी (सरोज गौतम), अनुप राजावादी (गोकर्ण शाही), डण्डपानी रेग्मी, सुशील बराल, केशव बस्नेत, र कुमार तामाङ छन्। आदेश आएलगत्तै उनीहरू सात जना र धरौटी बुझाउन नसकेका थप ६ जना गरी कुल १३ जनालाई डिल्लीबजार कारागार लगिएको थियो। यद्यपि, धरौटी बुझाउनासाथ ती ६ जना रिहा हुनेछन्।
धरौटीमा छुट्नेहरूको सूची
यस मुद्दामा ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। उनीहरूलाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी तोकिएको छ।
एक लाख रुपैयाँ धरौटीः हरिहर चौलागाईँ, सन्तोष राजावादी (सन्तोषकुमार सिलवाल), भिम (हेमराज थापा), विष्णुजंग बस्नेत (विष्णु बस्नेत)।
पचास हजार रुपैयाँ धरौटीः निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह, जितबहादुर श्रेष्ठ।
बीस हजार रुपैयाँ धरौटीः गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेत।
दश हजार रुपैयाँ धरौटीः पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा (तारानाथ बोहरा), दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की, मनोजकुमार सापकोटा।
फरार प्रतिवादी र कसुरहरू
यस मुद्दाका ११ जना प्रतिवादीहरू भने अझै फरार छन्। फरार रहनेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरू पनि समावेश छन्। दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता गम्भीर कसुरमा पनि मुद्दा लागेको छ। अन्य प्रतिवादीहरूविरुद्ध भने राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध को आरोप लगाइएको छ। तीनकुने घटनाको न्यायिक प्रक्रियामा यो आदेश एक महत्वपूर्ण मोड हो। अब बाँकी फरार प्रतिवादीहरूको खोजी कार्य र मुद्दाको थप प्रक्रिया कसरी अगाडि बढ्छ, त्यो हेर्न बाँकी नै छ।















