Logo

३०,जेठ काठमाडौं । इजरायलले इरानमा हवाई र ड्रोन आक्रमण गरेपछि तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। शुक्रबार बिहान इजरायलले आक्रमण गरेलगत्तै दूतावासले एक सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो।

दूतावासले सूचनामा भनेको छ, “यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन आग्रह गरिन्छ। उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थल आसपासमै रहन अनुरोध गर्दछौँ ।”

यता, इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोल्फजल शेखरचीले इजरायली हमलाको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि अमेरिका र इजरायल दुवैका लागि यो आक्रमण महँगो पर्ने चेतावनी दिएका छन्।

इजरायलले ‘अपरेसन राइजिङ लायन’ नामक सैन्य अभियान सञ्चालन गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र इरानका सर्वोच्च तहका सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरी पनि मारिएका छन्। सलामी देशका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक मानिन्थे।

इजरायली आक्रमणले इरानको नाटान्ज युरेनियम विकास संरचना, परमाणु वैज्ञानिक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको केन्द्रलाई लक्षित गरेको बताइएको छ। यो अभियान इरानले आणविक हतियार विकास गर्ने प्रयासलाई रोक्ने उद्देश्यले गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित समाचार