Logo

३० जेठ, काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि अदालतमा मुद्दा खेपिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा छिट्टै अदालतमा उपस्थित हुने तयारीमा छन्। उनीहरूलाई हाल फरार रहेको आरोप लागे पनि राप्रपा स्रोत र उनीहरुनिकट व्यक्तिहरूले यो आरोप अस्वीकार गरेका छन्।

मिश्र र राणा दुवै आफ्ना कानुन व्यवसायीको सल्लाहमा अदालतमा हाजिर हुन लागेका छन्। उनीहरूले उपयुक्त समयमा उपस्थित भएर कानुनी लडाइँ लड्ने बताएका छन्।

मिश्र निकट राप्रपाका एक नेताका अनुसार, मिश्र फरार छैनन्, केवल अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा नरहेका मात्र हुन्। सर्वोच्च अदालतले मिश्रलाई थुनाबाहिरै रहेर कानुनी लडाइँ लड्न आदेश दिएकोले प्रहरीले उनलाई नियन्त्रणमा लिन नसक्ने ती नेताको भनाइ छ। यस्तै, राणा पनि पार्टीको काममा खटिएका छन्।

पृष्ठभूमिस् बन्दी प्रत्यक्षीकरण रिट दायरपछि सर्वोच्च अदालतको आदेशका आधारमा मिश्र रिहा भएका थिए, जबकि राणा क्यान्सरको उपचारका लागि रिहा भएका थिए। काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा उनीहरू पनि प्रतिवादी रहेकाले थुनछेक बहसका क्रममा उपस्थित नभएकोमा अहिले उपस्थितिको तयारी गरिएको हो।
ढिलाइको कारणस् राणा निकट स्रोतका अनुसार, यसअघि ३९ जना प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमा बस्नुपर्ने स्थिति आउन सक्ने भएकाले योजना अनुसार नै उनीहरू त्यतिबेला अदालतमा उपस्थित नभएका थिए।
सम्भावित पक्राउ पूर्जीस् अदालतले उनीहरूलाई पक्राउका लागि वारेन्ट जारी गर्ने तयारी गरिरहेको बताइँदा उनीहरू अब छिट्टै अदालतमा हाजिर हुन लागेका हुन्। उनीहरू हाजिर भएपछि थुनछेकको प्रक्रिया सुरु हुनेछ।


सम्बन्धित समाचार