३० जेठ,वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा यो कारबाही गरेको हो। भारतबाट दुई वटा मोटरसाइकल (बीआर ०५ एटी ०४७५ र ना ४६ प ९७१० नम्बर) मा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा साथमा उल्लेखित रकम फेला परेको थियो। प्रहरीका अनुसार, उनीहरूले उक्त रकमको वैधानिक स्रोत खुलाउन सकेनन्।
सशस्त्र प्रहरीका सह प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले दिएको जानकारीअनुसार, राहुल कुमार तिवारीको साथबाट १३ लाख नेपाली रुपैयाँ र कौशल कुमार गुप्ताको साथबाट ५ लाख नेपाली रुपैयाँ बरामद भएको छ। बरामद रुपैयाँमा एक हजार दरका १ हजार ८२ वटा र पाँच सय दरका १ हजार ४ सय ३६ वटा नोट रहेको पाइएको छ।
उनीहरूले यो रकम कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने हालसम्म खुलेको छैन। पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।















