३० जेठ, वीरगञ्ज । विश्व रक्तदाता दिवसको अवसरमा वीरगन्जमा रक्तदानसम्बन्धी समस्याहरूको समाधान विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स एसोसियशन वीरगन्ज, पर्साको आयोजनामा कार्यक्रम वीरगन्जस्थित होटल वृंदावनमा सम्पन्न गरिएको हो।
ब्लड डोनर्स एसोसियशन वीरगन्जका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा भएको अन्तरक्रियामा रक्तदानको क्षेत्रमा देखिएका समस्या, रक्तसंचारको प्रभावकारी व्यवस्था, सुरक्षा मापदण्ड, रक्तदाता अभिलेख व्यवस्थापन तथा जनचेतना अभिवृद्धि लगायतका महत्वपूर्ण विषयमा गम्भीर छलफल गरिएको थियो।
प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बृजकिशोर पटेलले रेडक्रस सोसाईटी र रक्तसञ्चार केन्द्र सबैको सझा भएकोले यसलाई सबैले साझा दायित्वको रुपमा बुझेर रक्तदानमा सहयोग गर्न आग्रह गरे ।
उनले रक्तदानका लागि विभिन्न संघ संस्थाहरुसँग नियमित सहकार्य र समन्वयमा रेडक्रस सोसाईटीले खेल्नुपर्ने भूमिकामा आफूहरु तयार रहेको बताए । कार्यक्रममा रेडक्रस सोसाईटीका मन्त्री विनोद गिरी, डा.सरोज सिंह, रक्त संचार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे, मानव सेवा आश्रमका देवेश गुप्ता, राजन श्रीवास्तव,
ओम कुमार झा, महेश सिंह धामी, प्रकाश थारु, रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतलगायत समाजसेवी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागी वक्ताहरूले नियमित रक्तदानको संस्कृति विकास गर्नुपर्ने, रक्तदान प्रक्रियामा पारदर्शिता तथा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, र रक्तसंचार सेवा अझ व्यवस्थित र सर्वसुलभ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य निशान्त लामिछानेले गरेका थिए ।

















