३१ जेठ, काठमाडौँ । देशभर मनसुनी प्रणालीको सक्रियताका कारण आंशिकदेखि मध्यम वर्षा भइरहेकाे छ भने पूर्वी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ। त्यस्तै, देशको पश्चिमी भूभागमा पश्चिमी तथा स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको छ। यस प्रणालीको कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
हाल कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेस प्रदेशका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपात पनि हुन सक्ने सम्भावना छ।
रातिको अवस्था थप सक्रिय
आज राति मौसम अझ सक्रिय रहने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा सम्भावित छ।
विशेषगरी कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सावधानी अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेको क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार निरन्तर वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।















